काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले विद्युत महसुल नतिर्ने उद्योगको लाइन तीन महिनाका लागि जोडिएको बताएका छन्।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा घिसिङले बोर्ड बैठकको निर्णयअनुसार तीन महिनाका लागि विद्युत् महसुल नतिर्ने उद्योगको लाइन जोडिएको भन्दै त्यसपछि पनि बक्यौता नतिरे आवश्यक प्रक्रिया अघि बढ्ने बताए। उनले अदालत र लेखा समितिको आदेशअनुसार नै प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन उपयोग गरेबापतको बक्यौता रकम उठाउन खोजेको बताए। घिसिङले डेडिकेटेड र ट्रंकलाइन उपयोग गरेबापत अधिकांश उद्योगहरूले बिलअनुसारको रकम तिरिसकेको भन्दै केही उद्योगहरूको बाँकी रहेको जानकारी दिए। उनले डेडिकेटेड लाइनको बिलिङमा कुनै समस्या नरहेको बताए।



