काठमाडौं । ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षणको काम तोकिएको समयमा नहुने भएको छ । उक्त प्रयोजनको लागि नेपाल राष्ट्र बैंकले मापदण्ड पूरा गरेका अन्तरराष्ट्रिय अडिट कम्पनीलाई गत चैतमै ‘सर्टलिस्ट’ गरेको थियो । सर्टलिस्टमा परेका कम्पनीबाट प्रस्ताव पेश नभएपछि निर्धारित समयमा लेखापरीक्षण नहुने अवस्था आएको हो ।
राष्ट्र बैंकले प्रारम्भिक छनोटमा परेका कम्पनीलाई प्रस्ताव पेश गर्न शुरूमा असार २२ गतेसम्मको म्याद दिएको थियो । उक्त म्यादभित्र आवश्यक प्रस्ताव नपरेपछि राष्ट्र बैंकले दुईपटक म्याद थपिसकेको छ ।
पहिलोपटक ८ दिन थप गरेको राष्ट्र बैंकले दोस्रोपटक २० दिन म्याद थपेको छ । अब लेखापरीक्षण गर्न चाहने कम्पनीले साउन २१ गतेसम्म प्रस्ताव पेश गर्न पाउनेछन् ।
राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल भने प्राविधिक विषय मिलाउन मात्र आशयपत्र पेश गर्ने समय थप्नुपरेको दाबी गर्छन् । ‘राष्ट्र बैंकले जारी गरेको बोलकबोलको प्रावधान सार्वजनिक खरीद ऐनअनुसार नमिलेकाले प्रस्ताव पेश गर्ने समय थप्नुपरेको हो,’ उनले भने, ‘सर्टलिस्टमा परेकै कम्पनीबाट छनोट गरेर जिम्मेवारी दिन्छौं ।’ तर, कम्पनी छनोटमा ढिलाइ भएपछि तोकिएको समयभित्र लेखापरीक्षण नहुने उनले स्वीकार गरे ।



