कावासोती, साउन १० गते । नवलपुरमा एक वर्षमा ३४ हजारभन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८०-०८१ मा ३४ हजार दुई सय ३५ सवारी कारबाहीमा परेका हुन् ।
जिल्ला ट्राफिक प्रहरीले एक वर्षको अवधिमा कारबाहीमा परेका सवारी साधनबाट रु. दुई करोड ८७ लाख ५४ हजार राजस्व सङ्कलन भएको जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अच्युतराज आर्चायले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट कारबाही तथा जरिवाना गरी राजस्व रकम असुल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, "गत वर्ष मापसे कारबाहीमा छ सय ४६ सवारीसाधन परेका थिए जसबाट १२ लाख ३९ हजार राजस्व सङ्कलन भएको थियो । आ व २०८०-०८१ मा चार हजार नौ सय ४६ वटा सवारी मापसे कारबाहीमा परेका छन् जसबाट ५२ लाख ६१ हजार सङ्कलन भएको छ ।" यस वर्ष ट्राफिक नियम बढी उल्लङ्घन भएका र नयाँ प्रविधिको प्रयोगले सवारी साधन बढी कारबाहीमा परेको ट्राफिक प्रमुख आर्चायको भनाइ छ ।



