१० साउन, पोखरा । गण्डकी सरकारले राइड सेयरिङ सेवा दर्ताका लागि कार्यविधि ल्याउन लागेपछि यातायात व्यवसायीले विरोध जनाएका छन् ।
राष्ट्रिय यातायात व्यवसायी महासंघ गण्डकीले बिहीबार पत्रकार सम्मेलन गर्दै निजी सवारी साधनलाई पनि यात्रु ओसारपसार गर्न दिने कार्यविधि ल्याए सबै गाडी थन्क्याएर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
‘गण्डकी प्रदेश आफैंले यातायात व्यवस्थापनका लागि कार्यदल बनाएको छ तर ती सबै विषयलाई बेवास्ता गर्दै सार्वजनिक यातायात सेवालाई ध्वस्त पार्ने गरी अगाडि बढ्न खोजिएको छ’, अध्यक्ष केदार पौडेलले भने, ‘रातो नम्बर प्लेटलाई पनि सार्वजनिक सरहको सुविधा दिने हो भने नम्बर प्लेटको वर्गीकरण किन गरियो ?’



