बाँके । बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा रु १८ करोडको आलु बढी आयात गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा रु ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो ।



