नेपाल–बंगलादेश विद्युत् बिक्री सम्झौता तत्कालका लागि स्थगित


  • Himalayan Bank Limited (HBL)
नेपाल–बंगलादेश विद्युत् बिक्री सम्झौता तत्कालका लागि स्थगित

काठमाडौँ — नेपालले बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्नेसम्बन्धी त्रिपक्षीय सम्झौता तत्कालका लागि स्थगित भएको छ । बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि सम्झौता स्थगित भएको हो । नेपाल, भारत र बंगलादेशबीच साउन १३ मा सम्झौता गर्ने तयारी थियो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले सम्झौताको मिति पछि सार्न बंगलादेशले पत्र पठाएको बताए । ‘नयाँ मिति कन्फर्म गरेर भन्छौं भनेका छन्,’ उनले भने । यसअघि नेपालका ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका ऊर्जा तथा खनिज संसाधन राज्यमन्त्री नसरुल

हमिदको उपस्थितिमा बिजुली खरिदबिक्रीको सम्झौता हुने जनाइएको थियो । लगत्तै पोखरामा नेपाल र बंगलादेशको सहसचिवस्तरीय र सचिवस्तरीय बैठक बस्नेसमेत तय भएको थियो ।

बंगलादेशको सन् १९७१ को स्वतन्त्रता आन्दोलनमा सहभागी भएकाहरूका सन्तान र नातेदारका लागि सरकारी सेवामा विशेष आरक्षणको व्यवस्था गरिएकोमा त्यसको विरोधमा देशव्यापी प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा भएको हिंसात्मक झडपमा डेढ सयभन्दा बढीको ज्यान गएको छ । त्यहाँको सर्वोच्च अदालतले मंगलबार विशेष आरक्षणसम्बन्धी कानुन खारेज गरे पनि स्थिति अझै सामान्य बन्न सकेको छैन ।

Read More