धितोपत्र बजारमा अब चाँडै मार्जिन कारोबार प्रणाली लागू हुने तयारीमा छ । यो कारोबार सञ्चालनका लागि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आठ ब्रोकर कम्पनीलाई अनुमति दिइसकेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले असार १२ गते नै नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त ब्रोकर कम्पनीहरूलाई मार्जिन कारोबारका लागि स्वीकृति प्रदान गरेको थियो । स्वीकृति पाउनेमा क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सेक्योर्ड सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज, प्राइमो सेक्युरिटिज, नेपाल स्टक हाउस, कोहिनुर सेक्युरिटिज र दीपशिखा सेक्युरिटिज रहेका छन् । स्वीकृति पाएसँगै असार मसान्तभित्रै यो सेवा प्रदान गर्ने बताएका ब्रोकरहरूले प्राविधिक कठिनाइका कारण हालसम्म लागू गर्न सकेका छैनन् ।
ब्रोकरहरूले मार्जिन कारोबारको राफसाफ गर्दा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको राफसाफ प्रणालीमा मार्जिन कारोबार भनी छुट्ट्याउन माग गरेका छन् । मार्जिन ऋणबाट खरीद भएका धितोपत्र ग्राहकको नाममा छुट्टै हिगग्राही खाता खोली भण्डार गर्ने तथा ब्रोकरहरूले उक्त खाताको सञ्चालन गर्ने प्रस्ताव पनि ब्रोकरहरूको छ । नेप्सेको मापदण्डअनुसार ब्रोकर ब्याक अफिस प्रणाली निर्माण गरिसकेको ब्रोकर कम्पनीहरूले यस प्रणालीमार्फत मार्जिन तथा ऋण हिसाबको अभिलेख राख्ने र ब्याज गणना गर्ने व्यवस्था छ । मार्जिन कारोबारको व्यवस्थापनका लागि मार्जिन खाता र मार्जिन कारोबार हितग्राही खाता सञ्चालन गरिने ब्रोकरहरूले जानकारी दिएका छन् ।
लगानी गर्ने रकमको अभाव भइरहेको गुनासो लगानीकर्ताबाट आइरहँदा धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरूले धितोपत्रमा लगानी गर्न ऋण उपलब्ध गराउने भएका हुन् ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरूले मार्जिन कारोबार सुविधा उपलब्ध गराउने सम्बन्धमा बोर्डले गत कात्तिकमै मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०७४ जारी गरेको थियो । मार्जिन कारोबार उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले जारी गरिएको निर्देशिका बमोजिम कार्यविधि बनाई नेप्सेले गत जेठमै बोर्डको स्वीकृति लिएको थियो । हाल नेपालमा सञ्चालित ५० धितोपत्र दलाल व्यवसायीकै लागि यो सुविधा उपलब्ध गराउने उद्देश्य भए पनि उनीहरूको स्वेच्छाले यो सेवा प्रदान गर्न सक्ने नेप्सेको भनाइ छ । बोर्डले ब्रोकर र लगानीकर्ताको समझदारीमा मार्जिन कारोबारका लागि ब्याजदर निर्धारण गर्न निर्देशन दिएको छ ।
के हो मार्जिन कारोबार सुविधा ?
धितोपत्र खरीद गर्न आफूले निश्चित रकम लगानी गरी बाँकी रकम धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीमार्फत ऋण लिने सुविधालाई मार्जिन कारोबारसम्बन्धी सुविधा भनेर बुझ्न सकिन्छ । यो सुविधाका लागि लगानीकर्ताले ५० प्रतिशत रकम आफूले लगानी गर्नुपर्नेछ र बाँकी ५० प्रतिशतसम्म ब्रोकरले हालिदिनेछ । मानौं, तपाईंसँग ५ लाख रुपैयाँ छ र तपाईंलाई १० लाखको शेयर खरीद गर्नुप¥यो भने बाँकी रकम मार्जिन सुविधाबाट ब्रोकर कम्पनीले कर्जाको रूपमा उपलब्ध गराउँछ । यो सुविधा उपलब्ध गराउँदा ब्रोकर कम्पनीले सो सम्बन्धमा ग्राहकसँग सम्झौता गर्नुपर्नेछ । सम्झौतामा प्रारम्भिक मार्जिन कति हुने, सम्भार मार्जिन दर कति हुने, मार्जिन कल कसरी गर्ने, सेवा शुल्क वा ब्याज कति हुने, कुन कुन शेयर खरीद गर्ने हो, सोको विवरणसहित आवश्यकताअनुसार अन्य शर्तहरू समेटिएको हुन्छ ।
यो सुविधा उपलब्ध गराएबापत कम्पनीले केही रकम ब्याज तथा अन्य शुल्कको रूपमा लिन सक्नेछ भने यसरी शेयर किनेपछि हुन सक्ने लाभ र हानि दुवैको पूर्ण जिम्मेवार भने मार्जिन सुविधा लिने लगानीकर्ता आफै हुन्छ । खुद सम्पत्ति कम्तीमा रू. ५ करोड हुने ब्रोकर कम्पनीले मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउँछन् ।
मार्जिन कर्जामा पहिले आफ्नो पैसाले धितोपत्र खरीद गरेपछि त्यसको प्रमाणपत्र धितोको रूपमा बैंकमा प्रस्तुत गर्नुपर्दछ र त्यसको धितोको आधारमा बैंकले केही प्रतिशत कर्जा दिन्छ । ब्रोकरमार्फत लिइने मार्जिन कारोबार सुविधामा भने आफूसँग भएको रकम ब्रोकरलाई दिइन्छ र ब्रोकरले त्यसमा थपेर धितोपत्र खरीद गरिदिन्छ, अनि त्यो सबै धितोपत्रका प्रमाणपत्रहरू आफूसँगै धितोका रूपमा राख्छ । ब्रोकर कम्पनीले धितोपत्र बजारमा पछिल्लो कम्पनीको शेयरको १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन कम हुन्छ, सोको ५० प्रतिशतले हुन आउने रकम ग्राहकसँग शुरू मार्जिनको रूपमा लिनुपर्ने व्यवस्था मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधिमा उल्लेख छ । बजारको अवस्था तथा जोखिम हेरी ब्रोकरहरूले लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा न्यूनतम ४० प्रतिशत वास्तविक मार्जिन कायम गर्नुपर्नेछ । शुरूको मार्जिन रकम ५० प्रतिशत हुने व्यवस्था भए पनि थोरै मात्र शेयरमूल्य घटेमा ब्रोकरले मार्जिन रकम थप्न नलगाउन सक्छ । तर शेयर मूल्य धेरै घट्यो भने उसले थप मार्जिन माग्नैपर्ने नियम छ । यस्तो मार्जिनलाई मेन्टेनेन्स मार्जिन अर्थात् सम्भार मार्जिन भनिन्छ । सम्भार मार्जिन ४० प्रतिशतभन्दा बढी हुन नपाउने नियम छ ।
लगानीकर्ताले आवश्यक पर्ने मार्जिन भुक्तान गर्न नसकेमा वा इन्कार गरेमा र सम्पर्कमा नआएमा ब्रोकर कम्पनीले मार्जिन कारोबार सुविधाअन्तर्र्गत खरीद गरेको शेयर विक्री गर्न सक्नेछ । मार्जिन सुविधा प्रदान गर्न आवश्यक रकम ब्रोकर कम्पनीहरूले आफ्नै स्रोत वा वाणिज्य बैंकहरूसँग कर्जा लिएर प्रदान गर्न सक्नेछन् । ब्रोकर कम्पनीले आफ््नो प्रमाणित नेटवर्थको दुई गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछ । कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १० प्रतिशतभन्दा मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछैन ।
मार्जिन कारोबार प्रक्रिया








