विराटनगर, साउन ८ गते । एक वर्षअघि मेल्टिङ प्लान्ट थप गरी उत्पादन सुरु गरेको सुनसरी मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित प्रिमियर स्टिल उद्योगले उत्पादन बन्द गरेको छ । उद्योगले एक सातायता फलामे डन्डी उत्पादन र स्पन्ज मेल्टिङ गर्ने दुवै काम स्थगन गरेको हो । उद्योग बन्द भए पनि त्यहाँ कार्यरत कर्मचारीलाई भने बिदा दिइएको छैन । उद्योगले उत्पादन बन्द गरेर प्लान्ट तथा गोदाम सरसफाइमा ती मजदुरलाई खटाइरहेको छ ।
उद्योगका सञ्चालक पवनकुमार सारडाले उद्योगमा उत्पादित तयारी वस्तु बजारमा बिक्री गर्न नसकेका कारण उत्पादन बन्द गरेको जानकारी दिनुभएको छ । उहाँले अझै केही दिन उत्पादन नगर्ने उहाँले बताउनुभयो । उद्योगी सारडाले भन्नुभयो, “बजारमा माग नै छैन, विकास निर्माणको काम ठप्प छ । नयाँ घर बन्ने दर पनि घटेको छ । यस्तो समयमा उद्योगले उत्पादन जारी राख्न निकै चुनौती छ । त्यसैले केही समय उत्पादन रोकौँ भनेर बन्द गरेका हौँ ।”



