काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएका छन् । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको टोलीले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन सुझाव दिएको हो ।
'करिब चार वर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ । कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्धले विश्वव्यापी आपूर्ति शुङ्खलामा पारेको असर एवं पछिल्लो तीन वर्षदेखिको निरन्तर सङ्कुचित नीतिले आर्थिक गतिविधिमा शिथिलता उत्पन्न भएको छ', चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


