काठमाडौं : पछिल्लो समय समाजमा आर्थिक अपराध मौलाउँदै गएको छ। आव ०८०÷८१ मा देशभर १३ हजार २ सय ८३ वटा बैंकिङ कसुरका उजुरी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीको तथ्यांकअनुसार एक वर्षमा मुलुकभर ५९ हजार २ सय ३ वटा अपराधका घटना भए। जसमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा १८ हजार ४५ वटा अपराधका उजुरी प्रहरीमा दर्ता भए।
प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार भएको एक कार्यक्रममा प्रहरी प्रवक्ता दानबहादुर कार्कीले अपराधका घटना बढेको जानकारी दिए। आर्थिक अपराधपछि देशभर सार्वजनिक हितविरुद्धको कसुरका घटना धेरै भए। देशभर १० हजार ७ सय ५६ वटा यस्ता कसुरका घटना दर्ता भएका छन्।
२०८० साउनदेखि २०८१ असार मसान्तसम्म मुलुकभर लागुऔषधका ४ हजार ३ सय ९८ वटा, जबरजस्ती करणीका २ हजार ५ सय ७ वटा, ठगीसम्बन्धी १ हजार ८ सय ७४ वटा, सवारी ज्यानका १ हजार ७ सय ७५, ज्यान मार्ने उद्योगका १ हजार १९ वटा उजुरी दर्ता भएका छन्।



