काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन आजदेखि सुझाव संकलन गर्न १० दिने छलफल अभियान थालेका छन् ।
उनले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र सुधार कार्ययोजना तयारीसम्बन्धी अन्तरक्रियाको आइतबार पहिलो दिन निजी क्षेत्र तथा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेका हुन् ।
मन्त्रालयमा नै सञ्चालन हुने १० दिने अन्तरक्रियामा हरेक दिन विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुने मन्त्री भण्डारीले जानकारी गराए । उनले कार्ययोजना निर्माण गरेर सोही बमोजिम कार्य गर्ने बताए । एक महिनाभित्र परिणाम देखिने गरेर काम गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।


