धनगढी : सेती यातायात व्यवस्था कार्यालय कैलालीको परिसर, सेतो दाह्री भएका अर्धबैसे उमेरका दीपेन्द्रबहादुर चन्द असिनपसिन भएर कार्यालयभित्र पसे। कार्यालयका तीन/चार कक्षहरूमा उनी छिरे, १५/२० मिनेटको सोधपुछपछि उनी निराश भएर बाहिर फर्किंदा भेट भयो।
‘असारको १४ गते मोटरसाइकलको कर तिर्ने समय सकिएको रहेछ, मोटरसाइकल नवीकरण गरौं भनेर विद्यालयबाट आधा दिनको बिदा लिएर आएको तर कर लिनै मानेन’ उनले भने। उनी धनगढी उपमहानगरपालिकाको वडा नम्बर १९ मा रहेको शंकर सरस्वती अन्नपूर्ण आधारभूत विद्यालयका शिक्षक रहेछन्।
‘२५ किलोमिटर टाढाबाट आएको, यता आएर पनि मोटरसाइकल नवीकरण भएन, बजेट पास नभएकाले कर लिने गरिएको छैन भन्यो, अब सरकारले कर तिर्छु भन्दा पनि नलिने अवस्था आयो। यो सब नेताहरूका कारण त हो नि !’, आक्रोसित हुँदै शिक्षक चन्द आफ्नो बाटो लागे।



