बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दा पनि कर्जा विस्तार भने न्यून देखिएको छ। बैंकहरुले ब्याजदर घटाउँदै लगेपनि कर्जा प्रवाह भने त्यो गतिमा बढ्न सकेको छैन्।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको कर्जा बृद्धिदर ५.९७ प्रतिशत मात्रै छ। गत वर्ष बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी २ खर्ब ९१ अर्ब रुपैयाँ छ।
२०८० असार मशान्तसम्ममा ४८ खर्ब ७८ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी २०८१ असार मशान्तसम्ममा ५१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर हो तर पनि राष्ट्र बैंकको लक्ष्यभन्दा कर्जा विस्तार निकै कम छ।
२०७९ माघ महिनादेखि बैंक तथा वित्तीय संस्थाको निक्षेपको ब्याजदर घट्दै गएको छ। सो पश्चात बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर पनि घट्दो क्रममा छ। गत जेठसम्ममा कर्जाको ब्याजदर औसतमा १० प्रतिशतको हाराहारी झरेको छ। तर गत एक वर्षको तथ्याँक हेर्दा कर्जाको बृद्धिदर भने न्यून नै छ। आर्थिक वर्षको अन्त्यतिर मात्रै कर्जा विस्तार केहि बढेको देखिन्छ।
यस्तै गत आर्थिक वर्षमा बैंकहरुको निक्षेप संकलन भने साढे १२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। २०८० असार अन्तिमसम्ममा ५७ खर्ब ७१ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २०८१ असार मशान्तसम्ममा बढेर ६४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७ खर्ब २२ अर्ब अर्थात १२.५१ प्रतिशतले बढेको हो।
तथ्याँक अनुसार गत वर्ष बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपको आधारमा पनि कर्जाको रुपमा लगानी गर्न नसकेको देखिन्छ। जसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिदै गएको छ।



