भैरहवा, साउन ६ गते । भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०-८१ मा एक खर्ब २७ अर्ब ८४ करोड रुपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोड मात्र सङ्कलन भएको हो । भैरहवा भन्सारले अघिल्लो आवभन्दा तीन करोड छ अर्ब कम राजस्व सङ्कलन गरेको छ ।
आव २०७९÷८० मा एक खर्ब ५५ अर्ब ६० करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य तोकेकोमा भन्सार कार्यालयले ७६ अर्ब ८९ करोड मात्रै सङ्कलन गरेको थियो । भन्सार कार्यालय सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले राजस्व सङ्कलन निराशाजनक रहेको बताउनुभयो । खास गरी भैरहवामा पछिल्लो समय पेट्रोलियम पदार्थ, गाडी, मोटरसाइकल आयातमा कमी भएको छ । धेरै वस्तुको आयात घटेका कारण राजस्व सङ्कलनमा कमी आएको उहाँको भनाइ छ ।



