काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को असार मसान्त भइसक्दा पनि भुक्तानी नपाउँदा निर्माण व्यवसायीले काम रोक्न थालेका छन् । शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्माले आफूले केही परियोजनाको काम नै रोकेको बताए । ‘भुक्तानी नदिएकै कारण हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया सडक खण्डको काम रोकिएको छ,’ उनले भने, ‘साइटमा परिचालित उपकरणसमेत फिर्ता ल्याइएको छ ।’ उनका अनुसार सरकारले असार मसान्तसम्ममा भुक्तानी दिने आश्वासन दिएकाले आफ्नो कम्पनीले काम निरन्तर गरे पनि हाल भुक्तानी पाउन नसकेपछि काम रोकिएको हो ।
निर्माण व्यवसायीका अनुसार सरकारले निर्माण व्यवसायीलाई करीब ६० अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । सडक विभाग लगायतका कार्यालय पनि निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेको स्वीकार्छन् । भुक्तानी रोकिनुमा अर्थ मन्त्रालयबाट भुक्तानीको स्वीकृति नपाउनुलाई दोष दिई उनीहरू पन्छिन्छन् ।



