काठमाडौं : अमेरिकामा मुद्रास्फीतिको दबाब कम हुँदै गएको तथ्यांक सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा प्रमुख कमोडिटीहरु कच्चा तेल र सुनको भाउमा वृद्धि भएको छ । विश्वको सबैभन्दा ठूलो तेल मार्केट अमेरिकामा बिहीबार जुन महिनामा मुद्रास्फीति दर कम हुँदै ३ प्रतिशतमा झरेको तथ्यांक सार्वजनिक भएको थियो ।
मुद्रास्फीति दर घटेसँगै ब्याजदर कटौतीको सम्भावना झन बढेका कारण कच्चा तेल र सुनको भाउमा सकारात्मक प्रभाव परेको हो । बिहीबार बढेर बन्द भएको कच्चा तेलको भाउ शुक्रबार पनि एसियाली बजारमा बढेर कारोबार भइरहेको रोयटर्सले उल्लेख गरेको छ । शुक्रबार दिउँसोसम्ममा ब्रेन्ट क्रुड ०.७७ प्रतिशतले बढेर प्रतिब्यारेल ८६.०६ डलरमा कारोबार भइरहेको छ ।



