काठमाडौं : चीनको धितोपत्र बजार नियामकले बुधबार सर्ट सेलिङमा थप कडाईको घोषणा गरेको छ । सेयर बजार फेरि निरन्तर घट्न थालेपछि बजारलाई बलियो बनाउन सर्ट सेलिङमा थप कडाईका साथै कम्प्युटर सञ्चालित प्रोग्रामहरु मार्फत हुने कारोबारमा थप कडा छानबिन गर्ने घोषणा गरेको रोयटर्सले उल्लेख गरेको छ ।
चीनमा प्रायः नियामक र लगानीकर्ताहरुले सेयर उधारो लिएर बिक्री गरिने सर्ट सेलिङ कारोबारलाई बजार घटाउने प्रमुख कारण मान्दै आएका छन् । चिनियाँ नियामक चाइना सेक्युरिटीज रेगुलेटरी कमिसन (सीएसआरसी) ले सेयर पुनः उधारो लिने अर्थात ब्रोकरहरुले ग्राहकहरुलाई सर्ट सेलिङका लागि सेयर उधारो दिने कार्यमा रोक लगाउने घोषणा गरेको छ । साथै, सर्ट सेलरहरुका लागि मार्जिन आवश्यकताहरु पनि बढाइने भएको छ ।





