काठमाडौँ — मुलुकमा आर्थिक गतिविधि चलायमान हुन सहयोग पुग्ने खालको मौद्रिक नीति ल्याउन उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंकलाई सुझाएका छन् । उद्योगी व्यवसायीको अपेक्षाअनुरूप वित्त नीति (बजेट) ले अर्थतन्त्रका विद्यमान समस्या सम्बोधन गर्न नसकेको अवस्थामा मौद्रिक नीतिले उद्योगी व्यवसायी र वित्तीय क्षेत्रलाई प्रोत्साहन गर्ने खालको मौद्रिक नीति ल्याउनुपर्नेमा उनीहरूको जोड छ ।
नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको आगामी मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा उद्योगी व्यवसायीले वित्तीय प्रणाली नबिग्रिने तर आर्थिक गतिविधिले प्रश्रय पाउने, साना तथा मझौला उद्योगहरू तंग्रिन सक्ने, ठूला उद्योगहरूले उत्पादन तथा उत्पादकत्व बढाउन सक्ने खालका नीति आगामी मौद्रिक नीतिमा समेट्न सुझाएका हुन् । मागमा आएको संकुचनका कारण उद्योगहरूको ऋण तिर्ने क्षमता कम भएकाले मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।


