काठमाडौं : एसिया प्रशान्त क्षेत्रका सेयर बजार सूचकहरुमा मंगलबार वृद्धि भएको छ । सोमबार अमेरिकी सेयर बजार रेकर्ड विन्दुमा पुगेपछि मंगलबार एसियाली बजारमा पनि सकारात्मक प्रभाव परेको सीएनबीसीले उल्लेख गरेको छ । यता, जापानको सेयर बजार सूचकहरु निक्के २२५ र टोक्यो स्टक प्राइस इन्डेक्स (टपिक्स) ले मंगलबार अल टाइम हाई रेकर्ड बनाएका छन् ।
इन्ट्रा डे कारोबारमा निक्के २२५ सूचक २.३६% ले बढेर ४१,७४८ को अल टाइम हाई विन्दुसम्म पुगेको सीएनबीसीले उल्लेख गरेको छ । यता, जापानको अर्को सेयर बजार सूचक टपिक्स पनि मंगलबार १.३४% ले बढेर हालसम्मकै उच्च २,९०६ विन्दुसम्म पुगेको छ । यता, सामसुङ इलेक्ट्रोनिक्सको सेयर ०.११% ले बढेपछि दक्षिण कोरियाको कोरिया कम्पोजिट स्टक प्राइस इन्डेक्स (कोस्पी) पनि ०.२३% ले बढेको छ ।





