असार लागेसँगै बैंकिङ प्रणालीमा ७१ अर्ब ७२ करोड निक्षेप थपिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ४ देखि १६ असारसम्म यति निक्षेप थपिएको हो । आर्थिक वर्षको अन्य महिनाको तुलनामा असारमा बढी खर्च हुँदा निक्षेप पनि थुप्रिन थालेको हो ।
४ असारमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६२ खर्ब ६३ अर्ब १६ करोड थियो । १६ असारमा आइपुग्दा यो ६३ खर्ब ३४ अर्ब ८९ करोड पुगेको छ । निक्षेप थुप्रिँदै जाने, तर कर्जा प्रवाह सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजी पनि वृद्धि हुँदै गएको छ । ४ देखि १६ असारको बीचमा १३ अर्ब ११ करोड ९९ लाखको कर्जा विस्तार भएको छ । लगानीयोग्य पुँजीको अवस्था मापन गर्ने कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) १६ असारसम्म ७९.१८ प्रतिशत कायम भएको छ । ४ असारमा यस्तो अनुपात ७९.८७ प्रतिशत थियो ।



