सुवास निरौला
नेपाल धितोपत्र बोर्डले गएको तीन महिना यता सार्वजनिक निष्कासन अनुमति माग गरेका कम्पनीको सूचना लुकाउँदै आएको छ। उसले तीन महिना यता दर्ता भएका कुनै पनि निष्कासनको सूचना सार्वजनिक गरेको छैन।
यसअघि बोर्डले सार्वजनिक निष्कासनको लागि निवेदन दिए लगत्तै आफ्नो वेभसाइट मार्फत जानकारी दिने गरेको थियो। तर अहिले एकाएक त्यस्तो सूचना दिन बन्द गरेको छ। अहिले बोर्डको वेभसाइटमा आइपिओ निष्कासनको लागि पाइप लाइनमा ३५ कम्पनीको मात्रै छन्।
पछिल्लो पटक २०८० फागुन ११ गते लोहोरे इरखुवा हाइड्रोपावरले निवेदन दिएको मात्र अपडेट छ। तर त्यस पछि निवेदन दिएका कुनै पनि कम्पनीको वेभसाइटमा राखिएको छैन। जबकि गएको तीन महिनामा करिब २५ देखि ३० कम्पनीले निवेदन दिइसकेको बुझिएको छ। एनएमबि क्यापिटलले पाँच कम्पनीको शेयर निष्कासनको लागि अनुमति मागेको जनाएको छ। तर उसले माग गरेका पाँच कम्पनी मध्ये दुई कम्पनीको मात्रै बोर्डको वेभसाइटमा देखिन्छन्। अरू तीन कम्पनीको भने विवरण उपलब्ध छैन। यता ग्लोबल आइएमइ क्यापिटलको पनि तीन कम्पनीको विवरण वेभसाइटमा देखिँदैन। यी त उदाहरण मात्रै हुन्। अरू क्यापिटलले दिएका निवेदन समेत बोर्डले आफ्नो वेभ साइटमा प्रकाशित गरेको छैन।



