नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरूपयोग नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा त्यसमा दुरूपयोग नदेखिएको बताएका हुन्।
केही व्यक्तिबाट दुरूपयोग भएको देखिएकामा असुली प्रक्रिया पनि प्रारम्भ भइसकेको उनले बताए।‘कृषि कर्जाको अनुदान दुरूपयोग भएको भन्ने सतही कुरा हुन्। यो सफल कार्यक्रम देखिएको छ र अनुदानको प्रभावकारिता राम्रो छ’, गभर्नर अधिकारीले भने, ‘हाम्रो अध्ययनका क्रममा निकै सानो संख्यामा मात्रै यस्तो कर्जा दुरूपयोग भएको देखिएको छ। यसलाई असुल गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ।’


