काठमाडौँ । नेपाल प्रहरीले वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी आफूहरुलाई नभएको बताएको छ ।
सहकारी संस्थाको बचत दुरुपयोगसम्बन्धी संसदीय छानविन विशेष समितिको बैठकमा बयान दिँदै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले उक्त जवाफ दिएका हुन् । उनीसँगै प्रहरीको सिआईबी र अपराध अनुसन्धान विभागका अधिकारीहरुले पनि सोही जवाफ दिएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल प्रहरीको सहकारी ठगी प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले सहकारी नियमनको काम नेपाल प्रहरीको नभएको पनि बताएको विशेष समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए । गृहसचिव एकनारायण अर्यालसहित उपस्थित बैठकमा प्रहरी अधिकारीहरुले सहकारी ठगी प्रकरणमा मुछिएका २९४ जना मात्रै पक्राउ गरिएको र ८५६ जना फरार रहेको पनि समितिलाई जानकारी गराएका थिए ।



