काठमाडौँ, असार २१ गते । नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ । मुलुकका दुई ठुला राजनीतिक दलबिच भएको सत्ता समीकरणसँगै सङ्कुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्मविश्वास बढ्ने प्रतिक्रिया दिएका छन् ।
नयाँ सत्ता समीकरण बनेसँगै अर्थतन्त्रमा सुधार ल्याउने र व्यवसायीहरूलाई लगानीको वातावरण बन्नेमा निजी क्षेत्र आशावादी देखिएको छ । दुई ठुला राजनीतिक दलहरूबिचको सत्ता सहकार्यका लागि भएका संविधान संशोधन, निर्वाचन प्रणाली र प्रदेश संरचना हेरफेर लगायतका विषयहरूले थप आशावादी र उत्साहित बनाएको धारणा व्यक्त गरेका छन् । उद्योगी व्यवसायीहरूले पुराना ठुला राजनीतिक शक्ति एक ठाउँमा आएर स्थिर सरकार बन्नु निजी क्षेत्रको लागि सुखद पक्ष भएको भन्दै राजनीतिक स्थिरतासँगै आर्थिक र नीतिगत स्थायित्वमा जोड दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । देशको अर्थतन्त्रलाई ठोस कार्यदिशा र सबल अर्थतन्त्र बनाउन दुई राजनीतिक दलको सत्ता समीकरण उचित देखिएको निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले उल्लेख गरेका छन् ।



