काठमाडौँ — आफूले स्थापना गरेको जलविद्युत् आयोजनाले लामो समयसम्म राम्रो प्रतिफल दिनेमा स्वयम् कम्पनीका संस्थापक सेयरधनीलाई विश्वास नरहेको सरकारी निकायको अध्ययन प्रतिवेदनले औंल्याएको छ । ‘जलविद्युत् समूहका सूचीकृत कम्पनीको सेयर संरचनाको विद्यमान अवस्था र त्यसको प्रभाव’ सम्बन्धमा नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनले प्रायः संस्थापक सेयरधनी ‘लकइन’ पिरियड (सेयर बिक्री गर्न नपाइने अवधि) सकिनुअगावै बाहिरिने गरेको देखाएको हो ।
कानुन मन्त्रालयबाट बोर्ड सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तत्कालीन सदस्य तथा सहसचिव फणीन्द्र गौतमको संयोजकत्वमा गठित अध्ययन समितिले प्रतिवेदन तयार पारेको छ । ‘जलविद्युत् समूहका प्रायः संस्थापक सेयरधनी ‘लकइन’ पिरियड सकिएपछि सेयर बिक्री गरी बजारबाट निस्कने क्रम बढेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नेप्सेमा सूचीकृत ४३ कम्पनीको प्राप्त विवरण तथा कागजात अध्ययन गर्दा २० जलविद्युत् कम्पनीका संस्थापकले सेयर बिक्री गरेको देखिएको छ ।’


