काठमाडौं : सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ जारी रहेको उक्त रिटमा आज फैसला आउने संभावना छ।
आज लामिछाने पक्षका कानुन व्यवसायीहरूले जवाफी बहस गर्नेछन्। जवाफी बहस सकिए आजै फैसला आउन सक्नेछ। असार ७ गतेदेखि रिटमाथि सुनुवाइ भइरहेको हो। यसअघि असार १८ गते रिट 'हेर्दाहेर्दै' मा राखिएको थियो।
गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका हुन्। यसअघि जेठ २८ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सहकारी ठगीमा लामिछानेविरुद्ध परेका मिसिल कागज झिकाउन आदेश दिएको थियो। रिटलाई अग्राधिकार दिँदै जितेन्द्र बाबु राई (जीवी राई) समेत भएको सहकारी ठगीको मुद्दा नम्बर ०८०-c१-०९८७ को मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिएको थियो।



