काठमाडौं : भारतीय सेयर बजार बुधबार अल टाइम हाई विन्दुमा पुगेको छ । भारतका २ वटै प्रमुख सेयर बजार सूचकहरुले अल टाइम हाई रेकर्ड बनाएका हुन् । बुधबारको सुरुवाती कारोबारमै सेन्सेक्स इतिहासमै पहिलो पटक ८० हजार विन्दुमाथि पुगेको थियो । यो सूचक ८०,०५४ को अल टाइम हाई विन्दुमा पुगेपनि बन्द हुने बेलामा भने उक्त विन्दुबाट केही तल आएको छ ।
सेन्सेक्स बुधबार ५४५ अंकले बढेर ७९,९८६ विन्दुमा बन्द भएको छ । जुन हालसम्मकै उच्च क्लोजिङ विन्दु हो । यसअघि पाकिस्तानको सेयर बजार पनि इतिहासमै पहिलो पटक ८० हजार विन्दुमाथि पुगेको थियो । दुवै सूचकले बुधबार एकैदिन ८० हजार विन्दु भेट्टाएका हुन् । यता, भारतको अर्को सूचक ‘निफ्टी ५०’ ले पनि बुधबार नयाँ रेकर्ड बनाएको छ ।



