काठमाडौं : पाकिस्तानको सेयर बजारले चरम बुलिस यात्रा जारी राखेको छ । पाकिस्तनको सेयर बजार सूचक ‘केएसई १००’ बुधबार इन्ट्रा डे मा इतिहासमै पहिलो पटक ८० हजार विन्दु माथि पुगेको पाकिस्तानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यो सूचक बुधबार मध्याह्नसम्ममा ७३९ अंकले बढेर हालसम्मकै उच्च ८०,२९२ विन्दुमा पुगेको थियो ।
केएसई १०० सूचक मंगलबारको कारोबारमा पनि ७९,५५२ को रेकर्ड उच्च विन्दुमा बन्द भएको थियो । उक्त रेकर्ड बुधबार नै तोडिएको हो । लगानीकर्ताहरु सरकारी स्वामित्वका कम्पनीहरुमा आकर्षित भएपछि सेयर बजार नयाँ उचाईमा पुगेको जीओ टिभिले लेखेको छ । सरकारी कम्पनीहरुको निजीकरण गर्ने, रणनीतिकरुपमा सेयर हिस्सा बिक्री गर्नेलगायत चर्चा चलेपछि लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको हो ।



