नेपालमा अहिले पनि साथीभाइ, इष्टमित्र, साहुकार जस्ता अनौपचारिक माध्यमबाट ऋण लिने संख्या उच्च छ। कानुनी हक कायम गर्न सक्ने गरी यस्ता व्यक्तिगत तथा अनौपचारिक लेनदेनलाई दर्ता गर्ने परिपाटी भने देखिँदैन।
केही समयअघि सार्वजनिक भएको चौथो नेपाल जीवनस्तर सर्वेक्षणले अहिले पनि इष्टमित्र, साथीभाइबाट ऋण लिने घरपरिवारको संख्या सबैभन्दा धेरै अर्थात् ४२.५ प्रतिशत रहेको देखाएको छ।
आर्थिक वर्ष २०७९/८० सम्मको अवस्था देखाउने यो सर्वेक्षणले ऋण तिर्न बाँकी रहेका घरपरिवारको संख्या समेत उच्च दरले बढिरहेको देखाएको थियो।
ऋण लिएका ६३.८ प्रतिशत घरपरिवारमध्ये ९७.३ प्रतिशतले तिर्न बाँकी रहेको देखाएको छ। दस वर्षअघिको तथ्यांकले यसरी ऋण लिएर तिर्न बाँकी घरधुरी ६२.६ प्रतिशत रहेको देखाएको थियो।



