१२ असार, काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ऋण दिनसक्ने क्षमताको एक तिहाइ मात्रै कर्जा प्रवाह भएको पाइएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो (मार्जिन प्रकृतिको) कर्जा ८५ अर्ब ९५ करोड ३२ लाख रुपैयाँ प्रवाह गरेका छन् । यो उनीहरुले प्रवाह गर्नसक्ने क्षमताको ३९ प्रतिशत मात्रै हो ।
बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा अधिकतम आफ्नो कोर क्यापिटलको ४० प्रतिशतसम्म कर्जा दिन सक्ने एकीकृत निर्देशन २०८० मा व्यवस्था छ । वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कोर क्यापिटल ५ खर्ब ५२ अर्ब रुपैयाँ बराबर छ । यसको ४० प्रतिशत भनेको २ खर्ब २० अर्ब रुपैयाँ हुन आउँछ ।



