काठमाडौँ — लामो समयदेखि विवादित र गिजोलिँदै आएको डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरण फेरि तातेको छ । प्राधिकरणले उद्योगीहरूलाई पत्र पठाएरै १५ दिनभित्र बक्यौता तिरिसक्न भनेको छ । उद्योगीले प्राधिकरणलाई तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ हो । तर विद्युत्को बिल तिर्न ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न प्राधिकरणले उद्योगीलाई भनेको हो ।
६१ उद्योगलाई डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता रकमको पत्र पठाउन वितरण केन्द्रलाई निर्देशन दिइसकिएको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले जनाए । ‘०७२ माघदेखि ०७५ वैशाखसम्म बक्यौता नतिरेका ६१ उद्योगलाई बक्यौता रकममा थप २५ प्रतिशत दस्तुरसहितको पत्र पठाउन आइतबार नै वितरण केन्द्रलाई निर्देशन दिइसक्यौं,’ उनले भने, ‘कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ छ, त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर पत्र पठाउन भनिसकेका छौं ।’ सामान्य ग्राहकलाई ६० दिन कटेपछि २५ प्रतिशत थप दस्तुर लाग्ने गरेको उनको भनाइ छ । प्राधिकरण मातहतका वितरण केन्द्रहरूले ०७२ माघदेखि ०७५ वैशाखसम्मको थप दस्तुर जोडेर डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् प्रयोगबापतको बक्यौता पठाएको छ ।


