काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि दुईजना उम्मेदवारको मात्र नाम सिफारिश गर्न नमिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएपछि नियुक्ति प्रक्रिया खारेज हुने सम्भावना बढेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम बोर्ड अध्यक्षका लागि योग्यता पुगेका कम्तीमा तीन जनाको नाम सिफारिश गर्नुपर्ने व्यवस्था छ ।
‘सर्टलिस्ट’मा परेका पाँच उम्मेदवारमध्ये दुईजना मात्र व्यावसायिक योजना प्रस्तुति र अन्तरवार्तामा सामेल भएपछि नियुक्तिका लागि गठित सिफारिश समितिले महान्यायाधिवक्ताको कार्यालयबाट कानूनी राय लिने निर्णय गरेको थियो ।
धितोपत्र सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम नै दुईजना उम्मेदवारको मात्र नाम सिफारिश गर्न नमिल्ने राय प्राप्त भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । ‘सिफारिश समितिले बैठक बसेर आगामी प्रक्रियाबारे निर्णय गर्नेछ,’ उनले भने ।



