काठमाडौं : भारतीय सेयर बजारले दुई दिनको ब्रेकपछि पुनः रेकर्ड वृद्धि यात्रा जारी राखेको छ । भारतका दुवै प्रमुख सूचकहरु मंगलबार नयाँ अल टाइम हाई विन्दुमा पुगेका छन् । सेन्सेक्स इतिहासमै पहिलो पटक ७८ हजार विन्दु माथि गएको छ । मंगलबार यो सूचक ७१२ अंकले बढेर हालसम्मकै उच्च ७८,०५३ विन्दुमा बन्द भएको छ । इन्ट्रा डेमा सेन्सेक्स ७८,१३८ को अल टाइम हाई विन्दुसम्म पुगेको थियो ।
यता, अर्को सूचक निफ्टी ५० पनि १८३ अंकले बढेर हालसम्मकै उच्च २३,७२१ विन्दुमा बन्द भएको छ । इन्ट्रा डे कारोबारमा २३,७४६ को अल टाइम हाई विन्दुसम्म पुगेको थियो । भारतीय सेयर बजारमा मंगलबार ब्लुचिप कम्पनीहरुमा खरिद चाप र अन्य एसियाली बजारको प्रभाव परेपछि ऐतिहासिक उचाईमा पुगेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।



