नेपाल राष्ट्र बैंकले गरेको कडाइका कारण बैंकहरुको कर्जा बढ्न नसकेपछि आगामी आर्थिक वर्षमा केन्द्रीय बैंकले कर्जा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउने भएको छ।
गत आर्थिक वर्षदेखि नै बैंकहरुको कर्जा लगानी निकै सुस्त छ। गत वर्ष करिब ५ प्रतिशत कर्जा विस्तार भएकोमा चालु आर्थिक वर्षमा पनि ५ प्रतिशतभन्दा कम कर्जा प्रवाह हुने देखिन्छ। बैंकको कर्जा विस्तार घट्दा यसले अर्थतन्त्रमा मनि सप्लाई घटेको र त्यसले अर्थतन्त्रलाई नै मन्दीतर्फ लगेको विष्लेषण हुँदै आएको छ। दुई वर्षदेखि कर्जा लगानी निकै सुस्त भएको कारण पनि केन्द्रीय बैंक आगामी वर्ष कर्जा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउने तयारीमा देखिएको छ।
केन्द्रीय बैंकका अधिकारीहरु अहिले लचकता अपनाउनको लागि अर्थतन्त्रका सूचकहरुले समेत साथ दिने बताउँछन्। "अहिले बाह्य क्षेत्र मजबुद छ भने महंगी दर पनि निकै तल छ। यसले गर्दा ब्याजदर बढाउनेगरी मौद्रिक नीति आउदैन," राष्ट्र बैंकका एक अधिकारीले भने "अहिले कर्जा लगानी निकै सुस्त रहेकोले पनि कर्जा विस्तार केहि बढाउने गरी नीति आउछ।"
अर्थमन्त्रीले समेत अहिले राष्ट्र बैंकले अर्थतन्त्र चलायमान हुनेगरी मौद्रिक नीतिमा लचकता अपनाउन आग्रह गरेका छन्। अर्थसचिव मधु मरासिनीले पनि आइतबार एक कार्यक्रममा राष्ट्र बैंकले मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने बताए। बैंकहरुसँग भएको ६ खर्ब बढीको लगानीयोग्य रकम बजारमा लगानी हुनुपर्छ। मरासिनीले भने त्यसमा सहयोग होस् अहिले बजारमा मनि सप्लाई मुख्य कुरा रहेछ र त्यो मनि सप्लाई बढाउने मुख्य साँचो राष्ट्र बैंकसँग छ। उनले अर्थमन्त्रीले भाषण गरेर मात्रै अर्थतन्त्र चलयमान नहुने बताउँदै बजारमा कति पैसा पठाउने भन्ने साँचो राष्ट्र बैंकमा भएकोले केन्द्रीय बैंकले लचकता अपनाउनुपर्ने बताए।



