काठमाडौं– राजस्व संकलनका मुख्य चार स्रोतमध्ये यो वर्ष सबैभन्दा कम भन्सार महशुल उठेको छ । राजस्वका मुख्य स्रोतहरु भन्सार महशुल, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क र आयकर हुन् । चालु आवको वार्षिक लक्ष्यको तुलनामा यी चार स्रोतमध्ये सबैभन्दा कम भन्सार महशुल उठेको हो ।
चालु बजेटमा सरकारले भन्सार कार्यालयहरुलाई ३ खर्ब ७४ अर्ब रुपैयाँ भन्सार महशुल उठाउने लक्ष्य दिएको थियो । यो भन्सारले उठाउने भ्याट र अन्तःशुल्क बाहेकको लक्ष्य हो । चालु वर्षको ११ महिना अर्थात् जेठसम्ममा जम्मा एक खर्ब ९३ अर्ब रुपैयाँ भन्सार महशुल संकलन भएको छ । यो वार्षिक लक्ष्यको ५९.१२ प्रतिशतमात्र हो । यही बेला राजस्वका अन्य प्रमुख स्रोतहरु भ्याट, आयकर र अन्तःशुल्क भने लक्ष्यको ६४ प्रतिशत हाराहारीमा उठेका छन् ।



