काठमाडौं । अर्थ मन्त्रालयबाट धितोपत्र बोर्ड सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने अधिकारीले बोर्ड अध्यक्षको भूमिकामा काम गर्न सक्ने गरी कानून संशोधन भएपछि झन्डै ६ महीनादेखि रोकिएको धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया अघि बढेको छ ।
करीब ६ महीना बोर्डमा अध्यक्ष रिक्त हुँदा अध्यक्षको हस्ताक्षरबाट हुने धितोपत्रको सार्वजनिक निष्कासन अनुमति प्रक्रिया अवरुद्ध थियो । हालै धितोपत्रसम्बन्धी ऐन, २०६३ संशोधन भएपछि अर्थ मन्त्रालयबाट बोर्ड सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधिले नै अध्यक्षसरह जिम्मेवारी निर्वाह गर्न सक्ने भएका छन् । अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार राना अहिले बोर्ड नेतृत्वमा छन् । उनको नेतृत्वमा बोर्डले असार ७ गते हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ ।





