सुवास निरौला
गएको ११ महिनामा शेयर बजारबाट उठ्ने पूँजीगत लाभकर दोब्बरले बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि गत जेठसम्ममा दोब्बरले बढेको हो।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)का अनुसार गत जेठसम्म ४ अर्ब ८५ करोड रुपैयाँ पूँजीगत लाभकर उठी सकेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा २ अर्ब ३२ करोड रुपैयाँ लाभकर उठेको थियो।
चालु वर्ष शेयर बजारबाट उठ्ने लाभकर दोब्बरले बढ्दै गर्दा सरकारको आम्दानी राम्रै देखिएको छ। चालु वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा यस आर्थिक वर्ष लाभकर करिब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान सिडिएससिको छ। शेयर बजारले बढ्दो लयमा नै कारोबार भएमा ६ अर्ब रुपैयाँ लाभकर उठ्न मुस्किल नहुने सिडिएससिको तर्क छ।
चालु वर्ष ११ महिनामा मात्रै पूँजीगत लाभकर उठ्थी बढेको होइन, गत वैशाखको तुलनामा जेठको उठ्थी नै ९४.१७ प्रतिशतले बढेको छ। गत वैशाखको कुल उठ्थी ३६ करोड २७ लाख रुपैयाँ रहेको थियो। जबकि जेठमा उठ्थी बढेर ७० करोड ४२ लाख रुपैयाँमा उक्लिएको छ। जुन वैशाखको तुलनामा ९४.१४ प्रतिशत बढी हो। जेठमा दीर्घकालीन, अल्पकालीन र संस्थागत सबैको उठ्थी बढेको छ। जेठमा दीर्घकालीन लगानीकर्ताले मात्रै २३ करोड ३७ लाख रुपैयाँ तिरेका छन्। जबकि गत वैशाखमा उनीहरूले ११ करोड ४३ लाख रुपैयाँ तरेका थिए। त्यसैगरि अल्पकालीन लगानीकर्ताले जेठमा ३८ करोड ५५ लाख रुपैयाँ तिरे। उनीहरूले वैशाखमा १८ करोड ४३ लाख रुपैयाँ तिरेका थिए। उता संस्थागत लगानीकर्ताले जेठमा ८ करोड ४९ लाख रुपैयाँ तिरे। उनीहरूले वैशाखमा ६ करोड ४० लाख रुपैयाँ तिरेका थिए।



