काठमाडौं : अमेरिकामा केही सीमित कम्पनीहरुले नै सेयर बजारलाई रेकर्ड विन्दुमा पुर्याएपछि पोर्टफोलियो व्यवस्थापकहरु चिन्तित हुन थालेका छन् । प्रविधि क्षेत्रका केही कम्पनीहरुको अचम्मलाग्दो प्रदर्शनले अरु समग्र सेयर बजारमाथि पर्दा लगाएको अमेरिकी पत्रिका ‘फर्च्यून’ ले उल्लेख गरेको छ । अमेरिकी सेयर बजार सूचक ‘एस एन्ड पी ५००’ गत मंगलबार सन् २०२४ मा ३१औं पटक रेकर्ड तोड्दै ५,४८७ विन्दुमा बन्द भयो ।
यो सूचक सन् २०२४ सुरु भएयता १५% भन्दा धेरैले बढिसकेको छ । यद्दपि, उक्त वृद्धि कुनै पनि हिसाबले ‘एस एन्ड पी’ मा सूचीकृत अन्य कम्पनीहरुमा समानरुपले वितरित नभएको फर्च्युनले उल्लेख गरेको छ । सन् २०२४ जुन १८ सम्मको तथ्यांक हेर्दा एनभिडिया, माइक्रोसफ्ट, एप्पल, मेटा, गुगल, अमेजन र ब्रोडकमको सेयर औसतमा २५.३% ले बढेको छ । तर यी बाहेक एस एन्ड पी सूचकका बाँकी ४९३ कम्पनी भने औसतमा २.७% ले बढेका छन् ।





