काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्न नसक्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा गभर्नर अधिकारीले सहकारीमा देखिएका समस्या समाधान गर्न ढिला भइसकेको पनि बताए ।
ग्रामिण क्षेत्रमा बैंक र सहकारी छुट्टै भएपनि कारोबारसँग अन्तरसम्बन्ध रहेको गभर्नर अधिकारीको भनाइ थियो । उनले बैंकहरूमा खराब कर्जा बढ्नुको कारण प्रभावकारी नियमन र रिफर्म भएको दाबी गरे । बैंकहरूलाई पारदर्शी बनाउनको लागि बैंकहरूको खराब कर्जा बाहिर ल्याउन आवश्यक रहेको उनको भनाइ थियो ।


