झण्डै तीन महिना बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग आजदेखि फेरि सुरू भएकाे छ । यसअघि, उद्योगले दुई हप्ताका लागि उत्पादन बन्द गरेको थियो । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले बन्द गरिएकाे उत्पादन पुनः सुरु गरिएकाे हाे।
उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल गरेका थिए । हड्ताल जारी रहेकाले सिमेन्टको उत्पादन गरिएकाे थिएन । उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार अहिले निवृत्त भएका कर्मचारीले हड्ताल स्थगित गरेपछि आजदेखि नियमित उत्पादन र प्याकिङ गर्ने काम सञ्चालन भएको छ ।
अहिले उद्योगमा पटकपटक गरी करिब चार हजार ५०० मेट्रिक टन कोइला बोलपत्रद्वारा आह्वान गरी आपूर्ति गरिराखिएकाे छ । अब भने नियमित उत्पादन हुने सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेकाे भननइ छ । केही महिनाअघि आर्थिक सङ्कटले कोइला खरिद गर्न कठिनाइ हुँदा पटकपटक उत्पादनमा रोक लगाउनुपरेको थियो ।



