आईएमई समुहको सहायक कम्पनी हाइड्रो सपोर्ट प्रालीमार्फत कालिगण्डकी नदीको म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा निर्माण गर्न लागिएको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि ६ वटा बैंकहरुले लगानी गर्ने भएका छन् ।
उक्त आयोजनामा नबिल बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेण्ट मेघा, एभरेष्ट, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले लगानी गर्ने भएका हुन् । लगानी सम्वन्धि सम्झौतामा हाइड्रो सपोर्ट प्रालीको तर्फबाट आईएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकहरुको तर्फबाट सहवित्तीयकरणको नेतृत्वकर्ता नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
निर्माण अवधिको व्याज वाहेक कूल लगानी १२ अर्ब ९३ करोड मध्ये ७५ प्रतिशत बैंक ऋण र बाँकी २५ प्रतिशत निर्माण कम्पनी आईएमई समुह र सर्वसाधारणको लगानी रहनेछ । बैंकहरुमध्ये व्याजसहित नबिलले ३ अर्ब १२ करोड, एभरेष्ट र इन्भेष्टमेण्ट मेगा बैंकले २/२ अर्ब, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले बैंकले १—१ अर्ब लगानी गर्ने भएका छन् । यसै वर्षबाट निर्माण शुरु हुने उक्त आयोजना ४ वर्षभित्र निर्माण पुरा हुने कम्पनीले जनाएको छ ।



