काठमाडौँ — अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सकिएकाे छ । साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणका अनुसार सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारदेखि सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहेका छन् । प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुनसक्छ ।


