बैंक तथा वित्तीय संस्थाहरूको बढ्दो खराब कर्जामा शंकास्पद कर्जाको हिस्सा उच्च दरमा बढेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।
'निष्क्रिय कर्जामा पनि शंकास्पद र खराब कर्जा वृद्धि भइरहेकोले बैंकहरूको कर्जाको गुणस्तरमा अझै चिन्ता गर्नुपर्ने अवस्था छ,' प्रतिवेदनमा भनिएको छ।
निष्क्रिय कर्जामा कमसल, शंकास्पद र खराब कर्जा पर्छन्। कर्जाको भाका नाघेको ३ देखि ६ महिना पुगेका कर्जालाई कमसल, यस्तो भाका नाघेको ६ महिनादेखि एक वर्ष कटेमा शंकास्पद र एक वर्षभन्दा धेरै समयदेखि भाका नाघेका कर्जालाई खराब कर्जामा राखिन्छ।



