काठमाडौँ — प्रसारण लाइन र सबस्टेसन अभावमा वर्षायाममा फेरि बिजुली खेर जाने देखिएको छ । दुई वर्षदेखि ३३९.०७ मेगावाट क्षमताका २० वटा आयोजनाको बिजुली खेर गइरहेकामा यस पटक केही आयोजना थपिएकाले थप बिजुली खेर जान सक्ने जलविद्युत् उत्पादकहरूको दाबी छ ।
नेपाल विद्युत् प्राधिकरणले ‘कन्टेन्जेन्सी’ (प्रसारण वा सबस्टेसन अभाव) मा राखेर आवश्यकताअनुसार बिजुली उत्पादन गर्न निर्देशन दिँदै आएको छ । यस वर्ष पनि ‘कन्टेन्जेन्सी’ मै राखेर उत्पादन गर्नुपर्ने भएकाले बिजुली खेर जाने जलविद्युत् उत्पादकहरूको भनाइ छ । ‘नन–डिस्प्याचेबल’ को पैसा तिर्नु नपर्ने भएकाले प्राधिकरणले ‘कन्टेन्जेन्सी’ मा राख्ने गरेको उनीहरूको दाबी छ ।


