पूर्व अर्थसचिव विद्याधर मल्लिक नेतृत्वको समितिले तयार पारेको कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन– २०८० गत आइतबार सार्वजनिक भयो । चालु आर्थिक वर्षको आर्थिक ऐनमा धितोपत्रको व्यवसायिक रुपमा कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी अधिकतम ३९ प्रतिशतसम्म कर लगाउने विषय उल्लेख थियो । त्यसले गत वर्ष बजेट सार्वजनिक हुनासाथ शेयर बजारमा हंगामा मच्चिएको थियो ।
मल्लिक नेतृत्वको समितिले फेरि पनि व्यवसायिक रुपमा शेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी अधिकतम ३९ प्रतिशतसम्म कर लगाउन सिफारिस गरेको छ । अझ आगामी वर्षको बजेटमा समेत मल्लिकले दिएको कर प्रणाली सुधार सम्बन्धी प्रतिवेदनलाई क्रमशः लागू गरिने बुँदा उल्लेख गरेका थिए । आगामी वर्षको बजेटमा पुँजी बजारसम्बन्धी उल्लेख नभए पनि मल्लिकको सुझावमा भने व्यवसायिक शेयर कारोबार गर्ने व्यक्तिको आम्दानीको आधारमा कर लगाउने सुझाव दिएकाले शेयर बजारले नकारात्मक प्रतिक्रिया दिएको बजार विज्ञहरु बताउँछन्।



