काठमाडौं– चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म ४४ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ । यो गत आव २०७९–८० को यसै अवधिको तुलनामा १० अर्बभन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षको जेठसम्म ३४ अर्ब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको थियो ।
उद्योग विभागका अनुसार जेठसम्म ३ सय ५९ वटा प्रत्यक्ष वैदेशिक लगानीका प्रस्ताव स्वीकृत भएका छन् । जेठमा मात्र ५२ वटा प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार जेठमा ३ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । यस वर्ष स्वीकृत भएको एफडीआईबाट २० हजार १ सय ४६ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । जेठमा भित्रिएको विदेशी लगानीबाट २ हजार ३ सय २३ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । ६ अर्ब रुपैयाँभन्दा कमको लगानीका लागि उद्योग विभागबाट स्वीकृति दिने कानुनी व्यवस्था छ । ६ अर्ब भन्दा धेरै लगानीमा सञ्चालन हुने परियोजनाका लागि भने लगानी बोर्डबाट स्वीकृति लिनुपर्ने प्रावधान छ ।



