चौथो त्रैमासमा पनि बैंकहरुलाई नाफा बढाउन कठिन हुने देखिएको छ। कर्जा नउठ्दा खराब कर्जा बढ्दै गएको, नयाँ ऋण लगानी नहुँदा धेरै तरलता बैंकमै थुप्रिएकोले पनि बैंकहरुको नाफामा धेरै सुधार नहुने देखिएको हो।
चालु आर्थिक वर्षमा बैंकहरुको वित्तीय विवरण बिग्रीएको छ। खराब कर्जा बढ्दा त्यसको असर नाफामा देखिएको छ। बैंकहरुको नाफा घट्दो अवस्थामा नै छ। जसले गर्दा धेरै बैंकहरु शेयरधनीलाई लाभांश समेत बाँड्न नसक्ने अवस्थामा छन्।
तेस्रो त्रैमासिक विवरणअनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको थियो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य बैंकहरुले यस आर्थिक वर्षको सोही अवधिसम्ममा ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ मात्र कमाएका थिए। बैंकहरुको नाफा घट्नुमा मुख्य गरी कर्जा असुल नहुनु र ठूलो रकम सम्भावित जोखिम बापत छुट्याउन पर्नु नै देखिन्छ।
चैथो त्रैमासमा पनि बैंकहरुको खराब कर्जा घट्ने सम्भावना कम भएकोले पनि नाफा धेरै नबढ्ने बैंकरहरु बताउँछन्। "खराब कर्जामा धेरै सुधार हुने अवस्था देखिएको छैन," एक बैंकरले भने "चौथो त्रैमासमा पनि धेरै नाफा बढ्ने ठाँउ छैन।"



