संघीय सरकारले चालु वर्ष अनुमानित राजस्व लक्ष्य पूरा गर्न नसक्ने पक्कापक्की छ। १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो। जेठसम्म संकलन भएको चाहिँ ९ खर्ब ४१ अर्ब रुपैयाँमात्रै हो।
अबको वर्ष १२ खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमानसहित अर्थमन्त्री वर्षमान पुनले आउँदो वर्षको संघीय बजेट ल्याइसकेका छन्। उनले १८ खर्ब ६० अर्बको बजेट ल्याउँदा चालु वर्षमा भन्दा वृद्धि नै गरे। बजेटको आकार वृद्धिमा ठूलो आकारको ऋण सहायतालाई स्रोत मानिएको छ। तर असार १ गते बागमती र सुदूरपश्चिमबाहेक पाँच प्रदेश सरकारले बजेटको आकार वृद्धि नगरी ल्याए। पाँच प्रदेशको बजेट संकुचित भएको छ। बढाएकै प्रदेश बागमती र सुदूरपश्चिमसँग पनि वृद्धिको आधार दरिलो छैन। जब कि चालु वर्षकै बजेटको संशोधित अनुमान पनि कम थियो।



