काठमाडौैं : दक्षिण कोरियाली कार कम्पनी हुन्डाई मोटरको भारत इकाईले शनिबार मुम्बईको सेयर बजारमा सूचीकरणका लागि नियामकसँग अनुमति मागेको छ । हुन्डाई इन्डियाको कोरियाली माउ कम्पनीले कम्पनीको १७.५% हिस्सा बिक्री गर्न लागेको रोयटर्सले लेखेको छ । हुन्डाई इन्डियाले नियामक सेबीबाट अनुमति पाएमा उक्त आइपीओ भारतको इतिहासकै सबैभन्दा ठूलो आइपीओ बन्नेछ ।
हुन्डाई इन्डिया विगत २ दशकको अवधिमा भारतमा आइपीओ जारी गर्ने पहिलो कार कम्पनी पनि बन्नेछ । यसअघि सन् २००३ मा मारुती सुजुकीले अइपीओ जारी गरेको थियो । भारतीय सेयर बजार अल टाइम हाई विन्दु नजिक कारोबार भइरहेको बेला हुन्डाईले आइपीओका लागि अनुमति मागेको छ । हुन्डाईले भारतलाई एउटा महत्वपूर्ण ग्रोथ मार्केटका रुपमा लिएको छ ।





