काठमाडौँ — चालु आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा सरकारी वित्त सवा दुई खर्बभन्दा बढीले घाटामा छ । अपेक्षित रूपमा पुँजीगत खर्च बढ्न नसकेको अवस्थामा पनि राजस्व संकलनमा कमी आउँदा सरकारको आम्दानी र खर्चको अन्तर लगातार फराकिलो बन्दै गएको हो । गत शुक्रबारसम्म सरकारको कुल आम्दानीभन्दा कुल खर्च २ खर्ब ३६ अर्ब ६९ करोड रुपैयाँले बढी छ ।
महालेखा नियन्त्रणको कार्यालयको दैनिक बजेटरी तुलनाअनुसार गत शुक्रबारसम्म सरकारको कुल आय प्राप्ति ९ खर्ब ४४ अर्ब ५९ करोड ९४ लाख रुपैयाँ मात्र छ । यो वार्षिक लक्ष्यको ६४.१५ प्रतिशत हो । सोही अवधिमा कुल सरकारी खर्च ११ खर्ब ८१ अर्ब २९ करोड रुपैयाँ छ । यो वार्षिक लक्ष्यको ६७.४५ प्रतिशत हो ।


